समाज

पूर्वप्रहरी प्रमुख चन्दद्वारा सर्वोच्च अदालतसामु आत्मसमर्पण

हिमालय टिभी
२०७६ असार १९ गते ११:४२
पूर्वप्रहरी प्रमुख चन्दद्वारा सर्वोच्च अदालतसामु आत्मसमर्पण

काठमाडौं । चर्चित सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्वप्रमुख रमेशचन्द ठकुरीले आत्मसमर्पण गरेका छन् । सर्वोच्च अदालत पुगेर ठकुरीले आत्मसमर्पण गरेका हुन् ।

ठकुरीलाई कैद भुक्तानका लागि डिल्लीबजार सदरखोर लगिएको छ । तत्कालीन प्रधानन्याधीश सुशीला कार्कीसहितको इजलासले दुई वर्षअघि ठकुरीसहित पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक दिपकसिंह थाङदेन, पूर्वप्रहरी नायब महानिरीक्षक दीपक श्रेष्ठ लगायतलाई दोषी ठहर गरेको थियो ।

राणा, गुरूङ, थाङ्देन र श्रेष्ठ अहिले डिल्लीबजार कारागारमा छन् । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सुडानको डार्फरमा जाने संगठनका सदस्यको बन्दोवस्तीको सामान खरिदमा भ्रष्टाचार गरेको अदालतले प्रमाणित गरेको थियो ।

पूर्वप्रहरी प्रमुख राणालाई २ वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको थियो भने ठकुरी र गुरुङलाई एक वर्ष कैद र ४० हजार जरिवाना फैसला भएको भएको थियो ।

०६८ जेठ २४ मा अख्तियारले २८ करोड ८१ लाख रुपैयाँ माग दाबी गर्दै तीन पूर्वप्रहरी प्रमुखसहित ३४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालत इजलाशले ठेकेदार र तीन पूर्वप्रहरी प्रमुखबाट एक अर्ब १४ करोड रुपैयाँ असुल्नुपर्ने ठहर गरेको थियो । तर, विशेषको फैसलामाथि पुनरावेदनको माग गर्दै प्रहरी अधिकृत सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले विशेष अदालतमा मुद्दा दायर भएको चार वर्षपछि अन्तिम फैसला गरेको थियो ।

सर्वोच्चको फैसला अनुसार ठकुरीको पालामा एपीसी खरिदको भुक्तानी भएको थियो । ठेकेदार कम्पनीलाई भुक्तानी नदिर्इ थप हानी नोक्सानी हुनबाट जोगाउन सकिने अवस्थामा उनले त्यसो नगरेको तर भुक्तानी दिँदा रकम लिएको देखिने प्रमाण अभावमा उनीमाथि विगो कायम हुन नसक्ने भन्दै सर्वोच्चले चार करोड ८५ लाख ४४ हजार ३ सय ८८ रुपैयाँ जरिवानाको विशेषको फैसला उल्टाएको थियो ।

सर्वोच्चले ठकुरीलाई भ्रष्टाचार निवारण ऐनको दफा ८ ९१० बमोजिम ६ महिना र दफा २४ बमोजिम थप ६ महिना कैदी समेत गरी एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । तर ठकुरीले आफूमाथि अन्याय गरिएको भन्दै कसुर भए पुरा सजाय हुनु पर्ने, नभए सफाइ पाउनु पर्ने जिकिर गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *