खेलकूद

जावलाखेललाई हराउँदै थ्रीस्टार ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लियो

हिमालय टिभी
२०७५ मंसिर २३ गते १३:२९
जावलाखेललाई हराउँदै थ्रीस्टार ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लियो

काठमाडौं, २३ मंसिर । जावलाखेल युथ क्लबलाई हराउँदै थ्रीस्टार क्लब ए डिभिजन लिगको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको दोस्रो खेलमा जावलाखेल युथ क्लबलाई २/० शुन्य गोलले हराउँदै थ्रीस्टारले शीर्ष स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबसँग अंक बराबरी गरेको हो । समान १८ अंक जोडेपनि एक खेल कम खेलेको मनाङ शीर्षस्थानमा यथावत छ भने थ्रीस्टार दोस्रो र संकटा क्लब तेस्रो स्थानमा छ ।

थ्रीस्टारको जितमा म्यान अफ द म्याच बनेका रञ्जित धिमालले दुवै गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलका दोस्रो हाफमा रञ्जितले दुई गोल गरेका थिए । ५२औं मिनेटमा पहिलो गोल गरेका रञ्जितले १० खेलाडीमा सिमित जावलाखेलविरुद्ध ७० औं मिनेटमा दोस्रो गोल गरेका हुन् ।

थ्रीस्टारका खेलाडीलाई फाउल गरेपछि जावलाखेलका कुलदीप कार्की रातो कार्ड खाँदै मैदानबाट बाहिरिए भने थ्रीस्टारले पाएको फ्रिकिकमा रञ्जितले गोल गर्दै थ्रीस्टारको जित पक्का गरेका थिए ।

त्यस्तै, एपिएफको हलचोक मैदानमा भएको खेलमा च्यासल युथ क्लबले फ्रेण्ड्स क्लबलाई ३/१ गोलले हरायो । खेलको सुरुवातदेखीनै आक्रामक देखिएको च्यासलका लागि सन्तबहादुर तामाङले खेलको ११ अौं मिनेटमा अग्रता दिलाएका थिए ।

तर त्यसको नौ मिनेटमै बिकास लामाले गोल गर्दै फ्रेण्ड्सलाई खेलमा फर्कायो । पहिलो हाफ १/१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा च्यासलले थप दुई गोल गर्‍यो । देवेन्द्र तामाङले पेनाल्टीमार्फत च्यासललाई अग्रता दिलाउँदा खेलको ६८ औं मिनेटमा हेमन्त थापा मगरले अर्को गोल गर्दै च्यासलको जित निश्चित बनाए ।

यसअघि, आजनै एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा विभागीय टिम एपीएफले सरस्वती युथ क्लबलाई ३/० ले पराजित गर्‍यो । यो जितसँगै एपीएफ तालिकाको सातौं स्थानमा उक्लिएको छ । रुपबहादुर लामाको गोलबाट अग्रता लिएको एपिएफका लागी युवराज लामा र रमेश तामाङले थप एक-एक गोल गरे ।

लिगमा भोलि त्रिभुवन आर्मी र ब्रिगेड ब्याइज क्लब तथा मनाङ मर्स्याङ्दी र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्