सहमतिमा मात्रै चिकित्सा शिक्षा विधेयक पारित गर्न सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं, २९ पुस । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ आफूहरूसँग सहमति गरेर मात्रै संसदबाट पारित गर्न सरकारलाई आग्रह गरेको छ ।

संसद बैठकमा बोल्दै नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले बहुमतको आडमा विधेयक पारित गरिए संसद बैठक अवरोध गर्न बाध्य हुने चेतावनी दिए ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा विधेयक बहुमतले पारित भएपछि कांग्रेसले संसदबाट पनि सत्तापक्षले विधेयक बहुमतबाट पारित हुन सक्ने आशंका गरेको हो ।

कांग्रेसले प्राध्यापक डाक्टर गोविन्द केसीका माग पनि अविलम्ब पूरा गर्न सरकारसँग माग गरेको छ । प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसदहरूले डाक्टर केसीका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की र सीतादेवी यादवले डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक बनेको भन्दै केसीसँग भएको सम्झौता कार्यान्वयन गरी अविलम्ब माग पूरा गर्न माग गरे । सांसद कार्कीले डाक्टर केसीका माग सम्बोधन नभए गम्भीर दुर्घटना निम्तने चेतावनी दिए ।

चिकित्सा शिक्षा विधेयकका विषयमा आफूसँग भएको सहमति कार्यान्वयनको माग गर्दै डाक्टर केसी पाँच दिनदेखि ईलाममा अनशनमा छन् ।

shares