मनाङ मर्स्याङ्दीलाई हराउँदै पुलिस सुदूरपश्चिम खप्तडको सेमिफाईनलमा

धनगढी, २९ पुस । ए डिभिजन लिगको उपाधि विजेता मनाङ मर्स्याङ्दीलाई हराउँदै नेपाल पुलिस सुदूरपश्चिम खप्तडको सेमिफाईनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा आज भएको खेलमा मनाङ नेपाल पुलिस क्लबसँग एक शून्य गोलले पराजित भएको हो । धनगढी रंगशालामा भएको खेलमा निकै रोमाञ्चक खेलमा मनाङलाई पहिलो खेलबाट नै बाहिर पठाउन निरकुमार राईको एकमात्र गोल निर्णायक बन्यो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ७० औं मिनेटमा निरकुमारले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । स्टार खेलाडीले भरिएको मनाङले त्यसपछि खेलमा फर्कन निकै प्रयास गरे पनि सफल भएन र क्वाटरफाइनलबाट नै बाहिरियो ।

प्रतियोगिता अन्तर्गत भोलिको खेल भ्याली च्यासल काठमाडौं र थ्रिस्टार काठमाण्डौबीच हुने आयोजकले जनाएको छ । मोफसलकै सवार्धिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

shares