पेस्तोलसहित सलमान खान पक्राउ

बर्दिया, २९ पुस । बर्दिया प्रहरीले हातहतियार कारोवारीलाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया भारतस्थित जिल्ला बहराईच थाना मुर्तिहा तहसिल नानपारा ग्राम चित्लहवाका २० वर्षीय सलमान खानलाई कटुवा पेस्तोलसहित पक्राउ गरी सार्वजनिक गरेको हो ।

हातहतियार कारोबार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष प्रहरी टोलीले आइतबार बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १० कालाबन्जार गडरिया चोकबाट खानलाई पक्राउ गरेको हो ।

युपी ३१ ए आर ६८२६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाईकलमा आइरहेको अवस्थामा खानलाई रोकी चेकजाँच गर्दा कटुवा पेस्तोल १ थान, पेस्तोलमा लाग्ने गोली १ राउण्ड, नेपाली र भारतीय गरी २९,७९६ नगद रकम, लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ ३ ग्राम समेत फेला पारिएको प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए ।

पक्राउ परेका खानलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक मैनालीले बताए ।

shares