राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ सम्बन्धी प्रतिवेदन संसदमा पेश

काठमाडौं, २९ पुस । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि शिक्षा तथा स्वास्थ्य समितिले तयार पारेको प्रतिवदेन प्रतिनिधिसभामा पेश भएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ सम्बन्धी प्रतिवेदन पेश गरेकी हुन् ।

त्यस्तै बैठकले विभिन्न ३ वटा विधेयक सर्वसम्मतिले पारित गरेको छ । बैठकले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन ) विधेयक २०७५, भुक्तानी तथा फर्स्यौट विधेयक २०७५ र निवृत्तभरण कोष विधेयक २०७५ पारित गरेको हो ।

अब यी विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि ऐन बन्नेछन् र प्रमाणिकरण भएकै दिन देखि लागू हुनेछन् । बैठकमा सरकारले राष्ट्रिय परिचयपत्र पञ्जीकरण विधेयक २०७५ पेस गरेको छ । सरकारकातर्फबाट गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र पञ्जीकरण विधेयक २०७५ प्रस्तुत गरेका हुन् ।

त्यसैगरी “नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५” बैठकले स्वीकृत गरेको छ । कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले “नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५ माथि विचार गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरेको हो ।

shares