संसदमा सम्बोधन गर्दा प्रधानमन्त्रीले पेश गरेका सबै जानकारी गलत: कांग्रेस

काठमाडौं, २९ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको आर्थिक अवस्थाबारे गलत तथ्यांक प्रस्तुत गरेर सरकारले जनतालाई गुमराहमा राखेको आरोप लगाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस २२ गते संसदमा बोल्दै देशको पछिल्लो स्थितिबारे दिएको जानकारी झुट भन्दै कांग्रेसले प्रतिवाद गरेको हो । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद डाक्टर मिनेन्द्र रिजालले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्रीले पेश गरेका सबै जानकारी गलत भएको दाबी गरे ।

प्रधानमन्त्रीले भनेजस्तो मुलुकमा शान्ति सुरक्षा कायम नभएको, आर्थिक विकासका सूचाङ्कमा सकारात्मक परिर्वतन नदेखिएको भन्दै रिजालले प्रधानमन्त्रीले यथार्थ स्थिति स्वीकार नगरेको टिप्पणी गरे ।

प्रधानमन्त्रीले राष्ट्रपतिको सेवा-सुविधा बढाएर नयाँ दरबार श्रृजना गर्न खोजेको कांग्रसको आरोप छ । संवैधानिक संस्थालाई मातहतको विभागजस्तो बनाउने काम भैरहेको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ ।

shares