कलेजमा भएको अनियमितताबारे तत्काल छानबिन गर्न निर्देशन

भक्तपुर, २९ पुस । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितता तत्काल छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले उपसमितिले पेश गरेको अध्ययन प्रतिवेदन अनुमोदन गर्दै कलेजमा भएको अनियमितताबारे तत्काल छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताबारे तत्काल मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरी कामकार्वाही अघि बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति जयपुर घर्तीमगरले जानकारी दिइन् ।

कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेले करोडौं आफूखुसी खर्च गर्न पाउने गरी निर्णय गरिएको उल्लेख गर्दै उपसमितिका संयोजक योगेश भट्टराईले त्यसको छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई समितिनै गठन गर्न निर्देशन दिन समितिलाई सिफारिस गर्नु परेको स्पष्ट पारे ।

विवाद सम्बन्धमा अध्ययन गर्न गठित उपसमिति नेपाल इन्जिनियरिङ कलेज भक्तपुर जिल्ला प्रशासन कार्यालयमा २०६० साल भदौ ४ गते सामाजिक संस्थाको रूपमा दर्ता गरिएको उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

shares