नेविसंघलाई महाधिवेशन केन्द्रीत गतिविधि नरोक्न देउवाको निर्देशन

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संगठन नेविसंघलाई महाधिवेशन केन्द्रीत गतिविधि नरोक्न निर्देशन दिएका छन् ।

आफ्नै निवास बुढानिलकण्ठमा आइतबार बिहान महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वको नेविसंघको टोलीसंग उनले महाधिवेशनको तयारीलाई यथावत् राख्दै संगठन विस्तारलाई तीब्रता दिन निर्देशन दिए ।

भेटमा नेविसंघका महामन्त्री काफ्लेले पछिल्लो पटक थप गरिएको दुई महिनाको समयावधिमा जिल्ला अधिवेशनका लागि गरिएको पहलका बारेमा जानकारी दिँदै आगामी १२ औ महाधिवेशन अहिलेकै कार्यसमितिले गर्ने वातावरण निर्माण गरिदिन देउवासँग आग्रह गरे ।

काफ्लेले अहिलेसम्म १४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र बाँकी रहेका अधिकांश जिल्लामा अधिवेशनको प्रक्रिया सुरु भैसकेको जानकारी दिए ।

सभापति देउवाले माघ १० गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गरेर नेविसंघको समायावधिका बारेमा निर्णय गरिने बताएको नेवि संघका केन्द्रीय सदस्य शुशील भट्टले जानकारी दिए ।

shares