प्रहरीको गोली लागी भारतीय नागरिकको मृत्यु

रुपन्देही, २९ पुस । रुपन्देहीको सिद्धार्थनगरमा गएराति प्रहरीको गोली लागी एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

गस्तिमा खटिएको प्रहरीलाई भारतीय नम्बर प्लेट युपी ५३ एच २०२८ को मोटरसाइकलमा आएका दुई जनाले गोली हानेपछि जवाफी कारबाहीमा भारतीय नागरिकको मृत्यु भएको हो ।

मृतकको साथमा परिचय खुल्ने कुनै कागजात नहुँदा पहिचान हुन नसकेको प्रहरीको भनाइ छ । सिद्धार्थनगर नगरपालिका वडानम्बर–१०, शंकरपुरमा गोली लागेर प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

सीमा क्षेत्रमा तस्करी बढ्दै गएपछि प्रहरीले सक्रियता बढाएको छ । डेढ हप्ता अघि तस्करीको सामान बरामद गर्ने क्रममा रुपन्देहीको मायादेवी गाउँपालिकास्थित बेथरी क्षेत्रमा तस्करहरूको कुटपिटबाट प्रहरी हवल्दार डुकबहादुर खड्काको हात भाँचिएको थियो ।

shares