कुर्दिसको संरक्षणका लागि टर्कीसँग सम्झौता हुनेमा अमेरिकाको विश्वास

काठमाडौं, २९ पुस । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सिरियाबाट अमेरिकी सेना फिर्तीपछि कुर्दिस लडाकुको संरक्षणका लागि टर्कीसँग सम्झौता हुनेमा आशावादी रहेको बताएका छन् ।

टर्कीसँग कुर्दिसको सुरक्षा र संरक्षणका बारेमा ठोस सहमति गरी सिरिया छोड्ने तयारीमा अमेरिका रहेको विदेमन्त्री पोम्पेओले जनाए । आफ्ना सहयात्रीहरूको साथ खोज्नका लागि हाल मध्यपूर्व दौडाहामा रहेका पोम्पेओले संयुक्त अरब इमिरेट्स पुगेर कुर्दिसको संरक्षणसम्बन्धमा टर्कीका विदेशमन्त्रीसँग टेलिफोन वार्ता भएको जानकारी दिए ।

सिरियाको उत्तरी क्षेत्रमा अमेरिकी सेनाले कुर्दिस लडाकुको साथमा आईएसविरुद्ध अभियान चलाएको थियो ।आइएसविरुद्धको लडाईमा कुर्दिसहरूको संस्था पिपुल्स प्रोटेक्सन युनिट (वाइपिजी) ले अमेरिकी तथा सिरियाली सेनालाई साथ दिएको थियो । तर टर्कीले भने वाइपिजीलाई आतंकवादी समूहको रुपमा लिने गरेको छ ।

सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयले कुर्दिस लडाकुहरूको सुरक्षालाई लिएर चिन्ता बढेको छ ।

shares