भक्तपुर इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेलाः तेस्रो दिनसम्ममा करिब २० करोड कारोवार

भक्तपुर, २९ पुस । भक्तपुरमा सल्लाघारीमा लागेको तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेलामा तेस्रो दिन सम्ममा करिब २० करोडभन्दा बढीको कारोबार भएको छ ।

भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको आयोजनामा बिहीबारबाट सुरु भएको मेलामा तेस्रो दिन (शनिबार) मात्र करिब १० करोड रुपैयाँ र तीन दिनसम्ममा जम्मा २० करोड बराबरको कारोवार भएको मेला व्यवस्थापन समितिका संयोजक माधव प्रसाद प्रजापतिले जानकारी दिए ।

मेलामा इलेक्ट्रोनिक्स तथा अन्य सामानहरूमा २० देखि ५५ प्रतिशतसम्मको छुटको व्यवस्थाले पनि कारोवार बढेको उनको भनाइ छ । मेला अवलोकनमा आउनेहरूका लागि विभिन्न सांगीतिक प्रस्तुतिले पनि मनोरञ्जन प्रदान गरेको छ भने तेस्रो दिनको आर्कषणका रूपमा गुल्मिज गाईजको प्रस्तुति रहेको थियो ।

तेस्रो दिनमा मेला आयोजकले मिस्टर वल्र्ड महेश्वर महर्जनलगायत विभिन्न संस्थाहरूलाई समेत सम्मान गरिएको छ । मेलामा तीन दिनसम्म करिब ७० हजार अवलोकनकर्ताले अवलोकन गरेको संयोजक प्रजापतिले जानकारी दिए । मेलामा अटोमावाइल स्टलहरूमा गाडीहरूको बुकिंङ तथा यामाहाको स्टलबाट मोटरसाइकल बिक्रीसमेत भएको उनले बताए ।

पुस ३० गतेसम्म चल्ने मेलामा २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने र करिब ५० करोड रुपैयाँको हाराहारीमा कारोबार हुने संघका अध्यक्ष पुण्यराम खाताखोले जानकारी दिए । मेलामा छाला ज्याकेट, बेनली कम्पनीका मोटरसाईकल, मोबाईल, एलईडी टेलिभिजन सेट, वासिंङ मेसिन, रेफ्रिजिरेटर, ल्यापटप लगायत विभिन्न कम्पनीका विद्युतीय सामग्रीहरूले अवलोकनकर्ताहरूको ध्यान तानेको आयोजकले जानकारी दिएको छ ।

मेलामा विभिन्न मौलिक नेवारी परम्परागत बाजागाजा, परम्परागत रूपमा चिउरा बनाउने तरिका लगायत पनि प्रदर्शनीमा राखिएका छन् ।

shares