सिरियाबाट अमेरिकी सेना फिर्ता हुनेक्रम सुरु

काठमाडौं, २७ पुस । सिरियामा तैनाथ अमेरिकी नेतृत्वको सैनिकहरू फिर्ता हुनेक्रम सुरु भएको छ ।

सैन्य गठबन्धनका प्रवक्ता कर्णेल सीन रायानद्वारा जारी विज्ञप्तिमा सिरियाबाट अमेरिकी सेना फिर्ता हुन थालेको उल्लेख छ । सुरक्षाका कारण सैनिक फिर्तीको स्थान वा समय तालिकाका बारेमा विस्तृत जानकारी दिन नमिल्ने प्रवक्ता रायानले बताए ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले पनि उत्तरपूर्वी हासाकेह प्रान्तको राइलान हवाई अखडाबाट सैनिकको संख्या घटाउन थालेको जानकारी प्राप्त भएको जनाएको छ ।

बिहीबार केही अमेरिकी सैनिकहरूले उक्त हवाई अखडा छाडेको र अमेरिकी राष्ट्रपतिको घोषणापश्चात अमेरिकी सैनिकको यो पहिलो फिर्ती भएको अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले बताए ।

गत डिसेम्बर १९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा तैनाथ सबै अमेरिकी सैनिकलाई फिर्ता गर्न घोषणा गरेका थिए । सिरियामा करिब दुई हजार अमेरिकी सैनिक तैनाथ छन् ।

राष्ट्रपति ट्रम्पले सिरियामा इस्लामिक स्टेट समेतका लडाकू समूहहरू परास्त भएकाले सिरियाबाट सैनिक फिर्ता गर्नुपरेको दाबी गरेपनि ट्रम्पको उक्त घोषणाप्रति गठबन्धनमा आबद्ध राष्ट्रहरूले चिन्ता प्रकट गर्दै आएका छन् ।

shares