वुमेन्स टी-ट्वान्टी खेल्न नेपाली महिला टोली थाइल्याण्ड प्रस्थान

काठमाडौं, २७ पुस । भोलिदेखि थाइल्याण्डमा हुने वुमेन्स टी-ट्वान्टी प्रतियोगितामा सहभागी हुन नेपाली महिला टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

रुबिना क्षेत्रीको कप्तानी र बिनोद दासको प्रशिक्षणमा रहेको १४ सदस्यीय खेलाडीसहितको टोली थाइल्याण्ड प्रस्थान गरेको हो । १० टोलीको सहभागीता रहेको प्रतियोगिताका लागि यसअघि तय भएको खेल तालिका र समूह परिवर्तन गरिएको छ । जसअनुसार नेपाल रहेको समुह ए मा युएई, चीन, मलेसिया र थाइल्याण्डको ‘ए’ टोली रहेका छन् ।

नेपालले पहिलो खेला भोलि चीनको सामना गर्नेछ भने आइतबार मलेसियासँग खेल्नेछ । त्यस्तै सोमबार युएई र बुधबार घरेलु टोली थाईल्याण्ड ए टिमसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका लागि करिब ३ हप्तादेखी तयारी थालेको नेपालले बुधबारमात्र १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको थियो ।

यस पटक आरती बिडारी, कविता कुँवर, डली भट्ट, बिन्दु रावलले पहिलो पटक टोलीमा स्थान बनाएका छन् । एक वर्ष पछि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेको नेपालले फाल्गुन ५ गतेदेखि १५ गतेसम्म थाइल्याण्डमै हुने आईसीसी महिला विश्व कपका लागि एसिया छनौट पनि खेल्नेछ ।

shares