पुनः राष्ट्रिय आपतकाल घोषणा गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

काठमाडौं, २७ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी दिएका छन् ।

डेमोक्र्याटिक पार्टीका शीर्ष नेतासँग भएको छलफल बीचमै छाडेर मेक्सिकोसँगको सीमा क्षेत्रको भ्रमणमा रहेका ट्रम्पले सम्बोधनको क्रममा राष्ट्रिय आपतकाल लगाउने चेतावनी दोहोर्‍याएका हुन् ।

आफ्नो लामो समयदेखिको प्रतिबद्धताको सूचिमा रहेको मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि सरकारी कोषबाट बजेटको व्यवस्था गर्न कांग्रेस तयार नभए आफूले राष्ट्रिय आपतकालको घोषणा गरी सीमा पर्खाल बनाउने ट्रम्पको दाबी छ ।

ट्रम्पले संघीय सरकारको कार्यसञ्चालन बजेटमा ५.७ बिलियन अमेरिकी डलर सीमा पर्खालका लागि व्यवस्था गरिनु पर्ने अडान लिएका छन् ।

यसले गर्दा संघीय सरकारको कार्यसञ्चालन बजेट सम्बन्धी विधेयक अड्किएको छ र संघीय सरकारका आंशिक कार्यालयको काम २० दिनदेखि ठप्प छ । संघीय सरकार कार्यालयमा कार्यरत ८ लाख भन्दा बढी कर्मचारीले तलब पाएका छैनन् ।

shares