प्रधानमन्त्रीलाई तीन करोड दिएकाे र मानव तस्करी गरेको प्रमाणित भए सजाय भाेग्न तयार छु : राजदूत शेर्पा

काठमाडाैं । प्रधानमन्त्रीलाई तीन करोड दिएको भन्ने समाचार झुटाे भएकाे राजदूत लक्की शेर्पाले बताउनुभएको छ । प्रधानमन्त्रीलाई पैसा बुझाएको भन्ने समाचार आफ्नाे चरित्र हत्या गर्न नियोजित रुपमा प्रचार गरिएको उहाँकाे भनाइ छ ।

हिमालय टेलिभिजनसँगको कुराकानीमा मानव तस्कर गरेको भन्ने आरोप पनि झुटाे भएकाे भन्दै शेर्पाले झुटकाे खेती गर्नेहरुलाई प्रमाणित गर्न चुनाैति दिनुभएकाे छ ।खाँदै नखाएको विष नलाग्ने बताउँदै त्यसको सामना गर्न आफु तयार रहेको पनि उहाँले बताउनुभयाे । शेर्पा भन्नुहुन्छ- ‘यदि मैले प्रधानमन्त्रीलाई तीन कराेड खुवाएकाे र मानव तस्करी गरेकाे प्रमाणित भए जस्ताेसुकै सजाय भाेग्न पनि तयार छु ।’

आफुले दुतावासमा काम गर्नको लागि लगेको बाङछु शेर्पाले नक्कली कागजात बनाई ठगी गरिरहेको थाहा पाएपछि २०७४ साल मंसिर ११ गते नै परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको बताउँनुभयाे । राजदूत शेर्पाले २०७५ जेठ ३१ गते नै काठमाण्डौ जिल्ला अदालतले वाङछु शेर्पालाई ठगी गरेको आरोपमा पक्राउ गर्न म्याद जारी गरेको जानकारी दिनुभयाे ।

सिआइबीका अनुसार फुल्हम शेर्पाविरुद्ध तासी ल्यामु शेर्पा, निमदावा शेर्पा र निम्बुटी शेर्पाले जाहेरी दिएका थिए । तासीसँग चार लाख, निमदावासँग आठ लाख र निम्बुटीसँग १२ लाख रुपैयाँ उठाएको खुलेको छ । वाङछु भने फरार रहेका छन् ।

shares