झापामा मदिरा सेवनका कारण सबैभन्दा बढी अपराधिक घटना

पंकज शर्मा/झापा, २७ पुस । झापामा अपराधसम्बन्धित घटनाहरूमध्ये मदिरा सेवनका कारण सबैभन्दा बढी घटना हुने गरेको पाइएको छ ।

२०७५ माघ १ गते देखि झापा जिल्लालाई मदिरा व्यवस्थित तथा अवैध मदिरा नियन्त्रण जिल्ला बनाउने तयारीबारे जानकारी गराउने उदेश्यले आन्तरिक राजश्व कार्यालय मेची, भद्रपुरले शुक्रबार आयोजित पत्रकारसंग गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो जनाइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालका अनुसार झापा जिल्लामा घटेका घटनामध्ये आव ०७४।०७५ मा १६८७ घटना मध्ये ५१२ वटा मदिरा सेवनकै कारण भएको छ, भने चालू आवको साउन देखि हालसम्म ५७२ घटना मध्ये ८९ वटा घटना मादक पदार्थ सेवनकै कारण भएको बताए ।

झापामा घरेलु मदिरा नियन्त्रण र अन्तशुल्कको इजाजत लिएर कारोबार गर्नेलाई व्यवस्थित गरिने आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख बोलराज आचार्यले बताए ।

झापामा मदिरा सेवनका कारण घट्ने घटनालाई मध्यनजर गर्दै मदिराको व्यवस्थित कारोवार गराउने तथा अवैध मदिरा नियन्त्रित गर्ने उद्देश्य बमोजिम कार्तिक ७ गते कनकाई नगरपालिकाको कार्यालयमा आयोजित सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखको सहभागितामा माघ १ गतेदेखि झापा जिल्लालाई मदिराजन्य पदार्थ नियन्त्रित जिल्ला बनाउनको लागि लिखित प्रतिबद्धतासहितको १२ बुँदे घोषणा पत्र जारी भइसकेको छ । ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

shares