अमेरिकी सेना इन्डो प्यासेफिक क्षेत्र प्रमुख र रक्षामन्त्री पोखेरलबीच भेट

काठमाडौं, २७ पुस । नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाको इन्डो प्यासेफिक क्षेत्र हेर्ने प्रमुख एडमिरल फिलिप एस डेभिड्सनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेरलसँग शिष्टाचार भेट गरेका छन् ।

रक्षा मन्त्रालयमा आज बिहान भएको भेटमा उनीहरूबीच द्विपक्षीय सैन्य सहायता र एसिया प्यासेफिक क्षेत्रभित्र पर्ने इण्डो प्यासेफिक क्षेत्रको सुरक्षा चुनौतिबारे छलफल भयो ।

भेटमा अमेरिकी सेनाले नेपाली सेनाको क्षमता विकास र सैन्य कुटनैतिक सम्बन्धलाई बलियो बनाउँदै लैजाने विषयमा पनि कुराकानी भएको रक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता बाबुराम गौतमले जानकारी दिए ।

भ्रमणमा रहेको सेना प्रमुखको टोलीले बिहीबार नै नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापासँग भेट गरिसकेको छ । सेना प्रमुख एडमिरल डेभिड्सनको टोलीले काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्नेछ ।

shares