भक्तपुरमा तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला सुरु

भक्तपुर, २६ पुस । तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला आजबाट भक्तपुरको सल्लाघारीमा सुरु भएको छ ।

भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको आयोजनामा भएको मेलाको नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन गरेका हुन् । मेलाको उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेंले ईलेक्ट्रोनिक्स सामानहरू बनाउने उद्योगहरू आफ्नै देशमा स्थापना गर्नु पर्नेमा जोड दिए ।

उनले भने, “विदेशी सामान बिक्री गर्नुभन्दा पनि आफ्नै देशमा उत्पादित सामानहरू बिक्री वितरण तथा प्रवर्द्धन गर्न सके यसले देशको अर्थतन्त्रमा थप टेवा पुग्नुका साथै रोजगारमा समेत मद्दत पुग्नेछ ।”

विदेशी उत्पादनका सामानहरूले ब्यापार घाटा बढाएकोतर्फ सबै पक्ष सोच्नु पर्ने अवस्था आएको समेत उनको भनाइ छ । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले मेला सञ्चालन भइरहेको १ सय ८ रोपनी चौर भक्तपुरका जनताकै सम्पत्ति भएको बताए ।

विगतदेखि नै भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्याइरहेको ख्वप कलेजको संरचना विश्वविद्यालय बनाउन पूर्ण रहेको र यो चौर ख्वप विश्वविद्यालयका लागि उपयुक्त रहेकाले समेत विगतदेखि नै सरकारसँग यो चौरको माग भइरहेको सुवालले बताए ।

पाँच दिनसम्म चल्ने मेलामा एक सय ५० स्टलहरू रहेका छन् जसमध्ये एक सय स्टलहरूमा विद्युतीय सामग्रीसँगै सूचना प्रविधिका सामग्री रहने छ भने बाँकी स्टलमा भक्तपुरका मौलिक उत्पादन, अटोमोबाइलका स्टलहरू रहने मेलाका संयोजक माधवप्रसाद प्रजापतिले बताए ।

भक्तपुरलाई इलेक्ट्रोनिक्स हबको रूपमा विकास गर्ने उद्देश्यका साथ संघले प्रत्येक चार चार वर्षमा मेलाको आयोजना गर्दै आएको उनले बताए । मेलामा २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने र करिब ५० करोड रुपैयाँको हाराहारीमा कारोबार हुने संघका अध्यक्ष पुण्यराम खाताखोले जानकारी दिए ।

shares