अन्तर्राष्ट्रिय बजारको तुलनामा किन घट्दैन नेपालमा पेट्राेलियम पदार्थकाे मूल्य?

काठमाडौं, २६ पुस । उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आयल निगमकाे घाटा पूर्ति गर्न पेट्राेलियम पदार्थमा यथाेचित मूल्य नघटाइएकाे स्वीकार गरेका छन् ।

निगमकाे ४९औँ वार्षिकाेत्सवकाे अवसरमा मन्त्री यादवले निगम अर्बाै रुपैंयाँ घाटामा रहेकाले समायाेजन गर्न अन्तर्राष्ट्रिय बजार अनुसार नेपालमा मूल्य नघटाइएकाे बताए ।

अन्तर्राष्ट्रिय बजारमा पेट्राेलियम पदार्थकाे मूल्य लगातार घट्दै गएकाे छ । निगमले इन्डियन आयल कर्पाेरेसन (आइओसी ) बाट इन्धन खरिद गर्दै आएकाे छ । आइओसीले हरेक १५-१५ दिनमा निगमलाई नयाँ मूल्यसुची पठाउँछ ।

पछिल्लाे समय पेट्राेल तथा डिजेलकाे मूल्य ६ रुपैंयाँसम्म घटाएर पठाउँदा समेत निगमले २ रुपैंया मात्र घटाउने गरेकाे छ । यही कारण दशैंमा करिब ४ अर्ब घाटामा रहेकाे निगमकाे हालकाे घाटा २ अर्ब ३७ कराेडमा झरेकाे छ ।

यसैबीच निगमले आज राती १२ बजेदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनकाे मूल्य १० रुपैंया प्रति लिटरले घटाएकाे छ । नयाँ मूल्यपछि आन्तरिक हवाई इन्धनकाे मूल्य १ सय ४ रुपैंयाँबाट ९४ मा झरेकाे छ ।

shares