नेपालमा भूकम्पसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको संग्रहालय स्थापना हुने

काठमाडौं, २६ पुस । सरकारले भूकम्पसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको संग्रहालय स्थापना गर्ने तयारी गरेको छ ।

संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुुशील ज्ञवालीले २०७२ सालको विनाशकारी भूकम्पको स्मृति हुनेगरी भूकम्पसम्बन्धी संग्राहलय बनाउने तयारी गरिएको जानकारी दिएका हुन् ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले संग्रहालय पुनर्निर्माणको चरणमा रहेको धरहरा परिसरमै स्थापना गर्न लागिएको स्पष्ट पारे । उनले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि सबै स्थानीय तहमा जोखिम विपद् नक्साङ्कन कार्य अघि बढाइएको जानकारी दिए ।

२ वर्षभित्र पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै ज्ञवालीले हालसम्म १ खर्ब ६८ अर्ब रुपैयाँ पुनर्निर्माणमा खर्च भएको समितिलाई जानकारी गराए । बैठकमा समितिका सदस्यहरूले पुनर्निर्माणको कामलाई छिटो, छरितो बनाउन प्राधिकरणको ध्यानाकर्षण गराएका थिए ।

shares