प्रतिबन्धहरू फुकुवा गर्न निःशस्त्रीकरणमा ठोस कदम आवश्यक: राष्ट्रपति मून

काठमाडौैं, २६ पुस । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले आणविक निःशस्त्रीकरणमा ठोस र प्रभावशाली पहलकदमी गर्न उत्तर कोरियासँग आग्रह गरेका छन् ।

राष्ट्रपतिको कार्यालय ‘ब्लु हाउस’मा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति मूनले विश्व समुदायले उत्तर कोरियाली आणविक निःशस्त्रीकरणलाई जतिसक्दो चाँडो व्यवहारिक ढंगबाट कार्यान्वयनमा आएको हेर्न चाहेको बताए ।

राष्ट्रपति मूनले उत्तर कोरियाको आणविक निःशस्त्रीकरण प्रक्रियामा जति छिटो काम हुनसक्यो उति छिटो अन्तर्राष्ट्रिय प्रतिबन्धहरू फुकुवा हुने विश्वास व्यक्त गरे । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच कसले पहिले के गर्ने भन्नेमा विवाद रहेकै अवस्थामा राष्ट्रपति मूनको विचार सार्वजनिक भएको हो ।

संयुक्तराज्य अमेरिकाले पहिले आणविक निःशस्त्रीकरण गर्नुपर्ने शर्त राख्दै आइरहेको छ भने उत्तर कोरियाले अमेरिकासँग भएको सम्झौता बमोजिम आणविक निःशस्त्रीकरणका सवालमा धेरै काम गरिसकेकाले पहिले प्रतिबन्धहरू फुकुवा हुनुपर्ने अडान राख्दै आएको छ । यिनै विवादलाई लिएर दुई मुलुकबीच एकअर्काप्रति लक्षित आरोप प्रत्यारोप चल्ने गरेको छ ।

राष्ट्रपति मूनले संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको यही मतभिन्नताले अविश्वास र शत्रुता बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ–उनबीच सन् २०१८ को जुन महिनामा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो । राष्ट्रपति मूनले दोस्रो शिखर बैठक चाँडै हुने विश्वास व्यक्त गरे । उत्तर कोरियाली नेता कीमको यसैसाता भएको चीनको भ्रमणले त्यसैलाई सङ्केत गर्दछ ।

shares