सरकारले ‘सहकारी अभियान’ संचालन गर्ने

काठमाडौं, २५ पुस । सरकारले ‘सहकारी अभियान’ संचालन गर्ने घोषणा गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मुलुकको समृद्धिका लागि ‘सहकारी अभियान’ संचालन गर्ने घोषणा गरेकी हुन् ।

बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २६ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले सहकारी अभियान संचालनका लागि आवश्यक योजना र कार्यक्रम तय गर्न पनि सहकारी संस्थाहरूलाई आह्वान गरिन् ।

मन्त्री अर्यालले सहकारी क्षेत्र मुलुकको समृद्धि र गरिबी निवारणको आधारको रूपमा रहेको उल्लेख गर्दै त्यसका लागि सरकारले आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

मन्त्री अर्यालले समृद्धिको सपना बोकेर हिँडेको सहकारी क्षेत्रलाई अघि बढाएर मुलुकलाई समृद्ध बनाउने कुरामा सरकार ढुक्क रहेको पनि बताइन् ।

नेपालमा करिब ३४ हजार ५ सय सहकारी संस्थाहरू रहेका छन । ती संस्थाहरूसँग सहकार्य गरेर मुलुकलाई समृद्ध बनाउने मन्त्री अर्यालको योजना छ ।

shares