ट्रम्पको टेलिभिजन सम्बोधन: सीमामा पर्खाल बनाउन मागे बजेट

वासिंगटन, २५ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा बढ्दै गएको मानवीय तथा सुरक्षात्मक खतराबाट जोगिनका लागि मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन रकमको माग गरेका छन् ।

आप्रवासी समस्या समाधानका लागि चुनावी अभियानदेखि नै मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनुपर्ने अडानमा रहेका राष्ट्रपति ट्रम्पले नेपाली समयानुसार बुधबार बिहान टेलिभिजनमार्फत सर्वसाधारणलाई सम्बोधन गर्दै उक्त प्रतिबद्धता पूरा गर्न बजेट माग गरेका हुन् ।

ओभल कार्यालयबाट गरेको आफ्नो पहिलो टेलिभिजन सम्बोधनमा राष्ट्रपति ट्रम्पले सीमा पर्खालका लागि बजेटको माग गरे पनि राष्ट्रिय आपतकालको भने घोषणा गरेनन् । यसअघि ट्रम्पले कांग्रेसले सीमा पर्खालका लागि बजेट बिनियोजन गर्ने अवरोध गरेमा राष्ट्रिय आपतकाल लगाएर भए पनि सीमा पर्खाल निर्माण गर्ने बताएका थिए ।

सीमा पर्खालका विषयमा ट्रम्प र विपक्षमा रहेका सिनेटरबीचको विवादका कारण संघीय सरकारका विभिन्न कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने बजेटको व्यवस्था हुन नसक्दा आंशिक संघीय कार्यालयहरुको काम ठप्प छ ।

राष्ट्रपति ट्रम्पले संघीय सरकारका लागि आवश्यक पर्ने कार्यसञ्चालन बजेटमा सीमा पर्खालका लागि पाँच बिलियन डलर छुट्याउनु पर्ने अडान लिँदै आएका छन् ।

राष्ट्रपति ट्रम्पले बिहीबार मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रको भ्रमण पनि गर्दैछन् । त्यसअघि उनले अमेरिकी टिभी दर्शकलाई आप्रवासी समस्या समाधानका लागि पर्खालको आवश्यकता र औचित्यबारे आफ्नो तर्क प्रस्ततु गरेका हुन् ।

shares