स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई राजनीतिकरण नगर्न प्रधानमन्त्रीले गराए सचेत

काठमाडौं, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई राजनीतिकरण नगर्न सचेत गराएका छन् ।

प्रधानमन्त्री ओलीले राजनीतिकरणकै कारण कतिपय संस्थाहरू धरासायी भएको उल्लेख गर्दैै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई राजनीतिक पीडित हुन नदिन पनि मातहतका निकायलाई कडा निर्देशन दिए ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूका हरेक गतिविधि विधिसम्मत र पारदर्शी हुनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

शिक्षण संस्थाहरूलाई जनताको साझा संस्थाको रूपमा विकास गर्न पनि त्यहाँको हरेक गतिविधि पारदर्शी हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिष्ठानका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठानको सरुवा, बढुवालगायतको काममा पनि पारदर्शीताको आवश्यक्ता औंल्याए । उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गालगायतका समस्या तत्काल समाधान गर्ने आश्वासन पनि दिएका थिए ।

बैठकमा प्रतिष्ठानका उपकूलपति प्राध्यापक डाक्टर संगीता भण्डारीले प्रतिष्ठानका लागि ५ सय बिघा जग्गाको व्यवस्था गरिदिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेकी थिइन् ।

shares