मलेसियामा नयाँ राजा चयन प्रक्रिया सुरु

काठमाडौं, २३ पुस । संवैधानिक राजतन्त्र भएको मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्यागेपछि नयाँ राजा चयन प्रक्रिया सुरु भएको छ । नयाँ राजा चयनका लागि राजपरिषद बैठक बसेको छ ।

मलेसियाको सरकारी समाचार एजेन्सी बरनामाले राजपरिवारका ९ मध्ये ६ सदस्य राजपरिषद बैठकमा सहभागी भएको जनाएको छ । बाँकी ३ जना उपस्थित हुन नसकेको कारण भने खुलाइएको छैन ।

मलेसियामा राजगद्दी खाली भएको चार साताभित्रै नयाँ राजा छान्नुपर्ने प्रावधान छ । मलेसियामा ९ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने प्रचलन छ ।

दुई महिना लामो बिरामी बिदाबाट गत साता मात्रै सत्ता सम्हालेका ४९ वर्षिय राजा मुहम्मदले आईतबार अचानक राजगद्दी त्यागको घोषणा गरेका थिए । मुस्लिम बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले गद्दी त्यागेको यो पहिलो घटना हो । १५औं राजाका रुपमा रहेका सुल्तानले राजगद्दी त्याग गर्नुको कारण खुलाइएको छैन ।

सन् २०१६ को डिसेम्बरमा गद्दी सम्हालेका सुल्तानले गत नोभेम्बरमा औषधोपचारका लागि लामो बिदा लिएर रुस गएपछि संचारमाध्यममा सुल्तानले रुसकी पूर्व सुन्दरीसँग विवाह गरेको हल्ला फैलिएको थियो । तर, दरबार तथा सरकार दुवैले यसको आधिकारिक पुष्टि गरेको छैन ।

shares