लिगको आफ्नो अन्तिम खेलमा संकटा एपीएफसँग पराजित

काठमाडौं, २३ पुस । शहीद स्मारक ए डिभिजन लिगको आफ्नो अन्तिम खेलमा संकटा पराजित भएको छ । यसअघि नै लीगको उपविजेता बनिसकेको संकटा एपीएफ क्लबसँग २–१ ले पराजित भयो ।

एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा संकटालाई हराउनका लागि एपीएफका युवराज खड्का र राजन गुरुङले एक-एक गोल गरे । २४औं मिनेटमा युवराजले काउन्टर एट्याकमा गोल गर्दै एपीएफलाई अग्रता दिलाए ।

पहिलो हाफमा अग्रता कायमै राखेको एपीएफले ७१औं मिनेटमा अग्रता दोब्बर बनायो । यसपटक राजेन्द्र रावलको फ्रिकिकमा राजन गुरुङले गोल गरे । दोस्रो हाफको इन्ज्युरी समयमा लक्ष्मण रुचलको उत्कृष्ट फ्रिकिक गोलमा परिणत भएपछि संकटा खेलमा फर्किएको थियो । तर थप गोल हुन सकेन र संकटा पराजित भयो ।

यो नतिजाले दुवै टिमको पोजिसनमा कुनै फरक परेन । संकटा दोस्रो नै रह्यो भने एपीएफले पाँचौं स्थानमा लिग टुंग्याएको छ । लिग अन्तर्गत भोलि यो संस्करणका अन्तिम खेल हुँदैछन् । भोलि एनआरटी र ब्रिगेड ब्वाइज तथा फ्रेण्ड्स र मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुनेछ । मनाङ मर्स्याङ्दी क्लबले दुई खेल अगावै लिग जितिसकेको छ ।

shares