विद्यालयलाई पाकिस्तानी दूतावासको सहयोग

चितवन, २३ पुस । पाकिस्तानी राजदूतावासले भरतपुर महानगरपालिका–१४ स्थित नारायणी विद्यामन्दिर माध्यमिक विद्यालयलाई १० लाख बराबरको कम्प्युटर सहयोग गरेको छ ।

दूतावासले विद्यालयलाई १६ थान कम्युटर र प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो । नेपालका लागि पाकिस्तानी राजदूत डा. मजार जाबेदले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणराज पाठकलाई कम्प्युटर हस्तान्तरण गरे ।

सो अवसरमा राजदूत जाबेद र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले राजदूतावासले व्यवस्थित गरिदिएको प्रयोगशालाको उद्घाटन गरेका थिए । सो प्रयोगशालामा कम्प्युटर टेबल, प्रोजेक्टरसहित आवश्यक सामग्री रहेका छन् । प्रयोगशालाका भित्तामा आकर्षक रङ्गहरू लगाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत जाबेदले नेपाल र पाकिस्तानबीच भावनात्मक र भातृत्वको सम्बन्ध रहेको बताए । राजदूतावासले हरेक वर्ष नेपाली विद्यार्थीलाई रु १० हजार बराबरको छात्रवृत्ति उपलब्ध गराउँदै आएको पनि उनले बताए ।

सो अवसरमा महानगर प्रमुख दाहालले दुई देशबीच घनिष्ट सम्बन्ध कायम रहेको भन्दै भौतिक, प्राविधिक र शिक्षाको क्षेत्रमा पाकिस्तानले पुर्‍याएको सहयोगप्रति आभार प्रकट गरिन् । दाहालले यस्ताखाले सहयोगले नेपाल र पाकिस्तानबीच कायम रहेको सुमधुर सम्बन्धलाई अझै जनस्तरमा सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

नर्सरीदेखि कक्षा १२ सम्ममा ७०० जना विद्यार्थी अध्ययन गर्ने सो विद्यालयलाई गतवर्ष पनि राजदूतावासले ४ थान कम्प्युटर उपलब्ध गराएको थियो । सो विद्यालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्ययन र अध्यापन गरेको विद्यालय हो ।

shares