ए डिभिजन लिगमा आज संकटा क्लब र एपीएफबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, २३ पुस । शहीद स्मारक ए डिभिजन लिगमा आज संकटा क्लब र एपीएफबीच प्रतिस्पर्धा हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो साढे दुई बजे हुने खेलमा जित हासिल गरी दोस्राे स्थानमा रहेको संकटा लीगमा सुखद अन्त्य गर्ने योजनामा छ । २० अंकसहित पाँचौं स्थानमा रहेको विभागीय टोली एपीएफ पनि तीन अंकको खाेजीमा हुनेछ ।

हिजो भएको आफ्नो अन्तिम खेलमा हिमालयन शेर्पालाई २-० ले हराउँदै थ्रीस्टारले तेस्रो स्थानमा लीग टु‌ंग्यायो । अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मछिन्द्र क्लबलाई ३-० गोलले हराएर चौथो भयो ।

लीगको अन्तिम दिन भोलि मनाङले फ्रेन्ड्स क्लब तथा एनआरटीले बिग्रेड ब्वाइज क्लबसंग खेल्नेछ । लीग विजेता मनाङले पुरस्कारस्वरुप ५० लाख तथा उपविजेता संकटाले ३५ लाख रुपैयाँ सुरक्षित गरिसकेका छन् ।

तेस्रो हुने थ्रीस्टारले २५ र चौथो हुने आर्मीले १५ लाख, पाँचौं हुने एपीएफले सात लाख र छैटौं हुने पुलिसलले पाँच लाख पाउनेछन् । ‘फेयर प्ले’ टिमले एक लाख रुपैयाँ पाउनेछ । योपटक रेलिगेसन नभए पनि अर्को लिगका लागि पुछारको टिमको २ अंक र १३औं स्थानको टिमको १ अंक काटिनेछ ।

shares