ए डिभिजन लिग: थ्रीस्टार तेस्रो स्थानमा, आर्मीले चौथोमै चित्त बुझायो

काठमाडौं, २२ पुस । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले तेस्रो स्थान हात पारेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको अन्तिम खेलमा हिमालयन शेर्पालाई २-० ले हराउँदै थ्रीस्टारले तेस्रो स्थानमा लीग टु‌ंग्यायो । थ्रीस्टारले १३ खेलमा ८ जित, ३ हार र २ बराबरी खेल्दै २६ अंक जोडेको छ ।

खेलको २८औं मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता लिएको थ्रीस्टारले खेलको नियमित समय सकिन २ मिनेट बाँकी छँदा दोस्रो गोल गरेको थियो । रञ्जित धिमालको पासलाई रन्जन विष्टले पेनाल्टी क्षेत्रभित्रबाट गोल गरेका थिए ।

खेलमा हिमालयन शेर्पाले गोल गर्ने केही मौका गुमाएको थियो । हारसँगै हिमालयन शेर्पाले १३ खेलबाट १७ अंक जोड्दै सातौं स्थानमा लीग टुंग्याएको छ । खेलपछि थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले लीगमा मध्यम प्रदर्शन गरेको भन्दै टिमले स्तर अनुरुप खेल्न नसकेको प्रतिक्रिया दिएका छन् ।

लिगबाट टोलीको कमीकमजोरी पत्ता लागेको भन्दै थ्रीस्टारका कप्तान विक्रम लामाले लामो समयपछि मैदानमा फर्किंदा आत्मविश्वास बढेको अनुभव सुनाए । गत वर्षको बुढासुब्बा गोल्डकपको फाइनल खेलमा खुट्टामा चोट लागेपछि विक्रम ८ महिना मैदानबाहिर बसेका थिए । उनी यही लीगबाट मैदान फर्किएका हुन् ।

लीगमा आजै भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मछिन्द्र क्लबलाई ३-० गोलले हरायो । आर्मीको जितमा कप्तान भरत खवासले दुई र टंक बस्नेतले एक गोल गरे । जीतसँगै आर्मीले २५ अंक जोड्दै चौथो स्थानमा लीग पूरा गर्‍यो ।

मछिन्द्र भने ७ अंक जोडेर १३औं स्थानमा रह्यो । पहिलो पटक रेलिगेसन बिनाको लिगमा मछिन्द्रलाई कम्तिमा १ अंक घाटा लाग्ने पक्का छ । अर्को लीगमा मछिन्द्रले आफूले जोडेको कूल अंकमा एक अंग गुमाउनुपर्ने हुन्छ ।

shares