तेस्रो निर्यात दिवस मनाइँदै

काठमाडौं, २२ पुस । ‘नेपाली वस्तुको अन्तर्राष्ट्रिय पहिचान’मा जोड दिंदै तेस्रो निर्यात दिवस मनाइँदै छ ।

यसै अवसरमा पारेर आइतबार बिहान काठमाडौंको ठमेल बजारमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । देश भित्र र बाहिर पनि नेपाली वस्तुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ निर्यात दिवसको अवसर पारेर जनचेतना जगाउन प्रभातफेरी कार्यक्रम पनि आयोजना गरिएको नेपाल निर्यात परिषदका अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

कर्मचारी संजय कोषबाट सुरु भएको प्रभातफेरी कार्यक्रम ठमेल बजार परिक्रमा गरी सोही स्थानमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै परिषदका अध्यक्ष श्रेष्ठले निर्यात प्रवर्द्धनका लागि आवश्यक कानून, नीति र संस्थागत संरचना तत्काल निर्माण गर्न सरकारसँग माग गरे । उनले नेपाली वस्तुको निर्यात प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यका साथ परिषदले निर्यात दिवस मनाउन सुरु गरेको पनि स्पष्ट पारे ।

प्रभातफेरी कार्यक्रममा नेपाली वस्तुको प्रवर्द्धनमा जोड दिन आह्वान गरिएको प्लेकार्डहरू पनि प्रदर्शन गरिएको थियो । निजी क्षेत्रका व्यवसायीहरूले सरकारले आवश्यक कानूनको समेत व्यवस्था गर्न नसकेका कारण नेपाली वस्तुको निर्यात् उकालो लाग्न नसकेको आरोप लगाउँदै आएका छन् । उनीहरूले मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन पनि निर्यात प्रवर्द्धनमा जोड दिन सरकारलाई सचेत गराउँदै आएका छन् ।

shares