मनाङबाट प्रदेशसभामा निर्वाचित दीपक मनाङेलाई सपथ खुवाउने तयारी हुँदै

काठमाडौं, २२ पुस । मनाङ्गको प्रदेश सभा ख बाट निर्वाचित ‘दीपक मनाङे‘ भनिने राजीव गुरूङलाई सपथ गराउने तयारी भइरहेको छ ।

मनाङेको सपथबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । सर्वोच्च अदालतबाट जमानतमा थुनामुक्त भएपछि एक साताअघि मनाङेले आफूलाई सपथ खुवाउन माग गर्दै सभामुख कार्यालयमा निवेदन दिएका थिए ।

गत बिहीबार गुरुङले निवेदन दिएपछि शुक्रबार यसबारे छलफल गर्न संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिए पनि सबै दलको प्रतिनिधित्व नभएको भन्दै बैठकले औपचारिकता पाएको थिएन ।

पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै मनाङेलाई ५ वर्ष कैद सजाय हुने भनी गरेको फैसलालाई गएको वैशाखमा सर्वोच्चले सदर गरेपछि मनाङबाट निर्वाचित मनाङे जेल गएका थिए ।

गत वर्ष मंसिरमा भएको चुनावमा मनाङ प्रदेशसभा ‘ख’ बाट नेपाली कांग्रेसका उम्मेद्वार कर्म गुरुङलाई हराउँदै स्वतन्त्र उमेद्वार गुरुङ निर्वाचित भएका थिए ।

यसअघि प्रतिनिधि सभामा कैलाली -१ बाट निर्वाचित भएका तर टीकापुर घटनामा संलग्न भएको भन्दै पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलाई बिहीबार सपथ खुवाइएको थियो।

shares