ए डिभिजन लिगमा आज पनि दुई खेल

काठमाडौं, २२ पुस । शहीद स्मारक ए डिभिजन लिगमा आज पनि दुई खेल हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो साढे दुई बजे थ्रीस्टार क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । सशस्त्र प्रहरी बलको मैदान हलचोकमा दिउँसो साढे दुई बजे नै त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आजको खेलबाट तेस्रो स्थानमा रहने टिमको छिनोफानो हुनेछ । थ्रीस्टार र आर्मीमध्ये एक टिम तेस्रो हुनेछ । लिग तालिकामा थ्रीस्टार २३ अंकसहित तेस्राे र आर्मी २२ अंकसहित चौथो स्थानमा छ ।

मनाङ–मर्स्याङ्दी क्लब विजेता र संकटा क्लब उपविजेता बनिसकेको अवस्थामा तेस्रो स्थानको भिडन्तमात्र रोचक बनेको छ । भोलि संकटा क्लब र सशस्त्र प्रहरीको एपीएफ टिम खेल्नेछन् । अन्तिम दिन मंगलबार भने मनाङले फ्रेन्ड्स क्लबसंग तथा एनआरटीले बिग्रेड ब्वाइज क्लबसंग खेल्नेछ ।

विजेता मनाङले पुरस्कारस्वरुप ५० लाख तथा उपविजेता संकटाले ३५ लाख रुपैयाँ सुरक्षित गरिसकेका छन् । तेस्रो हुने टिमले २५ लाख पाउनेछ । चौथो टिमले १५ लाख, पाँचौं टिमले सात लाख र छैटौं हुने टिमले पाँच लाख पाउनेछन् ।

‘फेयर प्ले’ टिमले एक लाख रुपैयाँ पाउनेछ । योपटक रेलिगेसन नभए पनि अर्को लिगका लागि पुछारको टिमको २ अंक र १३औं स्थानको टिमको १ अंक काटिनेछ ।

shares