मिस्टर युनिभर्सको तयारीका लागि आर्थिक समस्या: महेश्वर महर्जन

काठमाडौं, १९ पुस । विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण जित्न सफल महेश्वर महर्जनले मिस्टर युनिभर्सको तयारीका लागि समस्या भएको बताएका छन् ।

थाईल्याण्डमा सम्पन्न १० औं विश्व शारिरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसिपबाट फर्किएका महेश्वरले हिमालयन टेलिभिजनसँग कुरा गर्दै मिस्टर युनिभर्सको तयारीका लागि आर्थिक स्रोत जुटाउन समस्या भएको बताएका हुन् ।

उनले च्याम्पियनसिपमा सहभागी हुन लागेको करिब १० लाख रुपैयाँ व्यक्तिगत रुपमा जुटाएका थिए । राष्ट्रिय खेलकुद परिषदबाट अन्य खेलको तुलनामा शारीरिक सुगठनले नगण्य मात्रामा पाएको बजेटबाट राष्ट्रिय प्रतियोगिता गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

शारिरीक सुगठनका लागि नेपालमा आवश्यक प्रविधि र सन्तुलित डाईटको अभाव हुँदा अन्तर्राष्ट्रिय प्रतियोगितामा जान समस्या हुने उनको भनाइ छ । विश्व शारिरिक सुगठनको पुरुष ७५ केजीमा १२ देशका खेलाडीलाई पछि पार्दै महेश्वरले स्वर्ण पदक जितेका थिए ।

shares