दुई सय विद्यार्थीलाई न्यानो कपडा वितरण

तनहुँ, १९ पुस । तनहुँको व्यास नगरपालिका-१ ले वडाभित्र सञ्चालनमा रहेको तीन सामुदायिक विद्यालयका २०० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

वडा कार्यालयले भादगाउँस्थित निर्मल माध्यमिक विद्यालय, जलदेवी माध्यमिक र मुसेखोलास्थित जनसेविका आधारभूत विद्यालयमा अध्ययनरत विपन्न एवं जेहेन्दार छात्रछात्रालाई न्यानो कपडा वितरण गरेको हो ।

निर्मल माविका १००, जलदेवी माविका ८० र जनसेविका आधारभूत विद्यालयका २० विद्यार्थीलाई स्वेटर र टोपी प्रदान गरिएको वडाध्यक्ष खरसिंह दरैले बताए ।

दरैले आर्थिकरूपमा विपन्न बालबालिकालाई सहयोग गर्नु सबैको दायित्व रहेको भन्दै वडाभित्र सञ्चालित अन्य विद्यालयका विद्यार्थीलाई समेत न्यानो कपडा वितरण गरिने जानकारी दिए ।

shares