जेलमा रहेका रेशम चौधरीले आज सपथ ग्रहण गर्ने

काठमाडौं, १९ पुस । टीकापुर घटनाका मुख्य अभियुक्तका रूपमा हाल जेलमा रहेका रेशम चौधरीले बिहीबार सांसदको सपथ लिने भएका छन् ।

चौधरीेलाई बिहीबार सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ गराउने संसद सचिवालयले जनाएको छ । बिहान साढे ११ बजे सिंहदरबारमा रहेको सभामुखको कार्यकक्षमा चौधरीलाई सपथ गराइने सभामुखका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए ।

चौधरी हाल डिल्लीबजार कारागारमा छन् । चौधरी सपथ ग्रहणपछि कारागार नै चलान हुनेछन् । चौधरीको दल राजपाले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर चौधरीको सपथ  गराउन दबाब दिइरहेको थियो ।

टीकापुर घटनाको मुख्य अभियुक्तका रूपमा उनीविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा परेको थियो । फरार रहेकै अवस्थामा चुनाव लडेका चौधरी कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । चौधरीले पछि अदालतसमक्ष आत्मसमर्पण गरेका थिए ।

२०७२ साल भदौ ७ गते थरुहट प्रदेशको माग गर्दै  कैलालीको टीकापुरमा भएको आन्दोलनका क्रममा आठजनाको ज्यान जानेगरी भएको घटनामा चौधरी मुख्य योजनाकार रहेको आरोप लागेको छ ।

घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने र एक नाबालकसहित आठजनाको हत्या भएको थियो । टीकापुर घटनाका दोषी रहेको आरोप लागेका २७ जना कैलाली कारगारमा तीन वर्षदेखि कारागारमा छन् ।

shares