चिनी उद्योगीहरूसँग छलफल गर्न सरकार तयार

काठमाडौं, १८ पुस । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले चिनी उद्योग संचालनका लागि उद्योगीहरूलाई आग्रह गरेका छन् ।

मन्त्री यादवले चिनी उद्योग संचालनका लागि चिनी व्यवसायीहरूसँग आवश्यक छलफल गर्न सरकार तयार रहेको पनि स्पष्ट पारे । बुधबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले चिनीको मूल्य बढाउने र उपभोक्तालाई मारमा पार्ने काम गरिरहेको भन्दै चिनी उद्योगीहरूप्रति असन्तुष्टि पनि व्यक्त गरे ।

चिनी उद्योगीहरूले घाटामा जानु परेको भन्दै पूर्वका चिनी उद्योगहरू बन्द गराएका छन् । चिनीको मूल्य जथाभावी बढाउने अनि त्यसो नगर्न भन्दा चिनी उद्योगीहरूले चिनी उद्योग बन्द गराएको मन्त्री यादवको आरोप छ ।

मन्त्री यादवले चिनी र उखुको मूल्य २ दिनभित्र तोक्ने तयारी भइरहेको पनि समितिलाई जानकारी गराए । उनले उद्योगीहरूकै सल्लाहमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनीको आयातमा प्रतिबन्ध लगाएको पनि स्मरण गराए ।

shares