कुशु गुरुङ र उत्तम थापा मगरको कौडा गीत “सानान्नी” सार्वजनिक

काठमाडौं, १८ पुस । नेपाली सांगीतिक क्षेत्रमा फरक शैलीका गीत गाउन रुचाउने कुशल युवा गायक तथा संगीतकार उत्तम थापा मगरले यसपाली गण्डकी प्रदेशको लोकप्रिय भाका कौडागीतमा आफ्नो सिर्जना प्रस्तुत गरेका छन् ।

उत्तम थापा मगरले ”सानान्नी” बोलको कौडा गीतकाे रमाइलो भिडियाे सार्वजनिक गरेका हुन् । उत्तमकै शब्द संगीतमा रहेकाे उक्त गीतलाइ दुर्गा गुरुङले एरेन्ज गरेका छन् । उत्तमलाई गायनमा गायिका कुशु गुरुङले साथ दिएकी छिन् ।

अभिज बज्राचार्यको क्यामेरा सुप्रिम पराजुलीको सम्पादन रहेको ”सानान्नी”को म्युजिक भिडियोलाई चित्र मगरले निर्देशन गरेका हुन् । नायिका आरुषी मगर र उत्तम थापामगरको अभिनय रहेको भिडियोमा विशेषगरी कौडा नृत्यलाई देखाउन खोजिएको छ ।

२०६५ सालदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय भएका संगीतकर्मी उत्तमले यसअघि आधुनिक तथा सुगम शैलीमा आधारित चारवटा एकल गीति एल्बम र दर्शक तथा स्रोतामाझ ल्याइसकेका छन् । उनकाे ‘मै काले’, ‘विदेसिएकाे’, ‘आँखाभरि’, ‘मैच्याङकाे गालैमा’, ‘जाेर मादल’ र मगर भाषाकाे गीत ‘साली’ चर्चित रहेका छन् ।

ललितकला क्याम्पसमा संगीतको औपचारिक अध्ययन प्रारम्भ गरेका संगीतकर्मी मगरले भारतको इलाहावाद संगीत विद्यालयबाट छैटौं वर्षको अध्ययन पूरा गरिसकेका छन् । वर्ष २०६७ र ६८ मा उनले त्यहाँबाट स्वर्ण पदक पनि प्राप्त गरेका थिए ।

भिडियो हेर्नुहोस्-

shares