नासाको अर्को सफलता: न्यू हराइजन यान हालसम्मकै सबैभन्दा टाढा पुग्यो

काठमाडौं, १८ पुस । अमेरिकी अन्तरिक्ष निकाय नासाले सौर्यमण्डलको बाहिरी हिस्सामा रहेको अल्टिमा टु नामक बरफको पिण्ड नजिकबाट पृथ्वीमा सूचना पठाउन सफल भएको छ ।

नासाको न्यू हराइजन नामक अभियान अन्तर्गत पृथ्वीबाट करिब साढे ६ अर्ब किलोमिटर टाढा रहेको उत्त पिण्डमा पुग्न सफल भएको हो । न्यू हराइजन यान सौर्यमण्डलको सबभन्दा टाढा पुगेको बैज्ञानिकहरूले दाबी गरेका छन् ।

अल्टिमा टु पिण्ड नजिकैबाट न्यू हराइजनले ठूलो परिमाणमा फोटो खिच्नुका साथै अन्य अवलोकन समेत गरेको नासाले जनाएको छ । ती सामग्री आगामी महिना पृथ्वीमा आइपुग्नेछन् ।

रोबट यानले पठाएको रेडियो सन्देश भने स्पेनको मड्रिडस्थित नासाको एउटा एन्टेनाले प्राप्त गरेको छ । रेडियो सन्देश पृथ्वीमा आइपुग्न ६ घण्टा ८ मिनेट लागेको थियो ।

म्यारिल्याण्डस्थित जन हप्किन्स विश्वविद्यालयको एप्लाइड फिजिक्स लेबोरेटरीका नियन्त्रकहरूले रेडियो सिग्नल प्राप्त भएपछि खुसीयाली मनाएका थिए ।

shares