टिभी हेर्न र गफ लाउन छोडेर डाँगीबारीका महिलाहरू रोजगारीमा व्यस्त

पकंज शर्मा/झापा, १७ पुस । 

घरायसी काम सकेर टिभी हेर्ने र गफ लाएर बस्ने बानी सबै महिलाको हुँदैन । काम गर्ने इच्छा शक्ति हुनुपर्छ, हाते सीप आफैँ सिकिन्छ र रोजगारीमूलक काम गाउँ घरमै गर्न सकिन्छ ।

समाजमा यस्तै उदाहरण दिएर रोजगार बनेका छन् झापाको भद्रपुर नगरपालिका ९ स्थित डाँगीबारीका महिलाहरू । बिहान, बेलुका घरायासी काम सकेर बाँकी समय छिमेकीसँग गफगाफ वा टेलिभिजन हेरेर दिन बिताउँदै आएका डाँगीबारीका महिलाहरू अहिले दिनभरी सीपमूलक काममा व्यस्त देखिन्छन् । डाँगाबारीका दुई दर्जन बढी महिला एकै ठाउँमा बसेर चर्खाको माध्यमबाट पस्मिनाको धागो काट्ने काममा व्यस्त हुने गर्छन् । धागो काट्ने रोजगारीले मनग्ये आम्दानी हुन थालेसँगै उनीहरूको दैनिकी नै फेरिएको छ ।

घरयासी काम सकेर १० बजेदेखि धागो काट्ने काममा ब्यस्त रहेकी स्थानीय महिला निर्मला पोखरेलले भनिन्,”पहिला घरमा बसेर दिन कटाउन दिक्क लाग्थ्यो, चर्खा काट्ने कामको अवसरको तालिम लिएर शुरु गरेको बताइन् । गाँउमै सीपसहितको रोजगारीमूलक काम पाएपछि अहिले दिन कटेकै थाहा हुँदैन।”

गाँउमा दिनभर टिभी हेर्दै छरछिमेकीमा गएर त्यसै गफ गरेर दिन काट्नुभन्दा केही सीप सिकेर गाउँमै सानोतिनो काम गर्नु भन्दै गाँउकै एक जना दाइले भनेपछि मलगायतका गाउँका तीन जना महिला काठमाडौं गएर तालिम लिएको बन्दना भट्टराईले बताइन्। “चर्खाबाट पस्मिनाको धागो काट्ने सीप हामीले १२ दिन काठमाडौंमा बसेर लिएर आएका हौँ’ ।”

“सीप पनि सिक्यो, काम पनि पाइयो र परिवार चलाउन पनि सहज भयो”, उनले थपिन् । तालिम लिएर गाउँघरमै रोजगारी पाएपछि आफू एकदमै खुसी भएको स्थानीय महिला बबिता आचार्यले बताइन्। “एक केजी धागो काट्न सके दुई हजार रुपैयाँ आम्दानी हुन्छ”, उनले भनिन् “यहाँ रोजागारी पाएकी महिलाले तीनदेखि चार अवधिमा एक केजी धागो काट्छिन्।”

“काठमाडौंमा रहेको एक जापानीज संस्थाले सीप सिकायो, त्यसपछि गाउँमा आएर अन्य महिलालाई सीप सिकायौं।’ सीप सिकेपछि महिलाको सहभागितामै चर्खा खरिद गर्यौं र काठमाडौंकै ती जापानीज संस्थाले रुवा पठाइदिन्छ, त्यसलाई धागो बनाएर यहाँबाट पठाउने गर्छौं”, स्थानीय सीता रेग्मीले बताइन् ।

डाँगाबारीको शिवपञ्चायन मन्दिर परिसरमा अहिले २५ जना महिलाले रोजगारी पाएपछि दंग परेकी छिन् । यस सीपमुलक रोजगारीको काममा अन्य महिलालाई पनि सहभागी गराई धेरैलाई महिलालाई रोजगारी प्रदान गरिने उद्देश्य रहेको उनको भनाइ छ।

shares