राष्ट्रपति ट्रम्प डेमोक्रेटहरूसँग सम्झौता गर्न तयार

काठमाडौं, १७ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मागलाई वेवास्ता गरी डेमोक्रेटहरूले २ वटा विधेयक अघि सारेपछि ट्रम्पले आफू सम्झौताका लागि तयार रहेको बताएका छन् ।

ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा डेमोक्रेटिक पार्टीका संसदीय नेताहरू चक शुमर र न्यान्सी पेलोसीलाई तत्काल समाधान खोज्न आग्रह गरे । तर उनले सम्झौता प्रस्ताव औपचारिक रूपमा अघि सारेको भने छैनन् ।

झण्डै डेढ सातादेखि बन्द रहेको अमेरिकाका सरकारी कार्यालयहरू खोल्न बजेट व्यवस्थाका लागि अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेटमा डेमोक्रेटहरूले मेक्सिकोको सीमामा पर्खाल लगाउने बजेटको व्यवस्था नगरी बाँकी बजेट मात्र पारित गर्ने प्रस्ताव पुन: अघि सारेका छन् ।

कांग्रेस बहुमत रहेको तल्लो सदनको नयाँ सत्र सुरु हुनेबित्तिकै बजेटसम्बन्धी २ वटा विधेयक पारित गर्ने डेमोक्रेट्सहरूको योजना छ । तर रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटमा भने उक्त विधेयक पारित गर्ने वा नगर्ने भन्नेमा अन्यौल कायमै छ ।

shares