बढ्दो सवारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण, डोजर चालक नै इन्जिनियर बन्नु दु:खद

काठमाडौं, १६ पुस । अध्ययनबिना नै सडक विस्तार र सवारी सञ्चालनको अनुमति दिँदा सवारी दुर्घटना बढेको भन्दै सांसद्हरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

संसद्को विकास समितिको बैठकमा सा‌ंसद्हरूले ग्रामिण क्षेत्रमा जथाभावी सडक विस्तारको काम भइरहेको भन्दै डोजर चालक नै इन्जिनियर बन्नु दु:खद भएको बताए ।

प्राविधिक मापदण्डबिना सडक निर्माण हुनु नै दुर्घटनाको मुख्य कारक रहेको भन्दै सांसदहरूले मापदण्ड बिना सडक निर्माण गर्ने कार्यलाई दण्डनीय बनाउन सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै २० बर्षे गाडी विस्थापित योजनाका कारण राजधानीबाट हटाइएका सवारी साधन ग्रामिण क्षेत्रमा सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै सांसदहरूले नियमन गर्न सरकारको ध्यानाकर्षण गराए ।

सवारी दुर्घटनाको बारेमा छलफल गर्न समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र ट्राफिक प्रहरी महाशाखा प्रमुखलाई बोलाएको थियो ।

shares