सरकारले राष्ट्रिय एकता र मेलमिलाप नचाहेको देउवाको आरोप

काठमाडौं, १६ पुस । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राष्ट्रिय एकता र मेलमिलाप नचाहेको आरोप लगाएका छन् ।

सभापति देउवाले सरकार एकलौटी ढंगले अघि बढिरहेको भन्दै त्यसविरुद्ध आन्दोलनमा जाने चेतावनीसमेत दिए । ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारले कर्मचारीतन्त्रलाई समेत पार्टीको नियन्त्रणमा राख्न खोजेको आरोप लगाए ।

कार्यक्रममा कांग्रेस नेता गगनकुमार थापाले कांग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधानको सार्थक कार्यान्वयन गर्ने दायित्व पनि कांग्रेसकै भएको भन्दै त्यसका निम्ति जिम्मेवार बन्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराए । उनले कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारसँग प्रजातान्त्रिक मूल्य, मान्यता र संस्कार नरहेको आरोप पनि लगाए ।

नेता थापाले विपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति संविधानको सार्थक कार्यान्वयनका निम्ति पनि उपयोगी हुने विश्वास व्यक्त गरे ।

shares