बंगलादेश आम निर्वाचन परिणाम: शेख हसिना आउँदो कार्यकाल पनि प्रधानमन्त्री रहने पक्का

ढाका, १६ पुस । बंगलादेशमा सन् २००९ देखि सत्तामा रहेकी शेख हसिना अब आउँदो कार्यकाल पनि प्रधानमन्त्री रहने पक्का भएको छ ।

आइतबार भएको आम निर्वाचनमा संसदका ३५० मध्ये २८१ सिटमा अवामी लिगले जित दर्ता गरेपछि हसिनालाई तेस्राे कार्यकालको लागि प्रधानमन्त्री हुने बाटाे खुलेको हो । तर विपक्षी पार्टीले भने चुनावलाई ‘हाँस्यास्पद’ भन्दै पुनः मतदान हुने पर्ने माग गरेका छन् ।

मतदान केन्द्रहरूमा मतदान सुरु हुनुपूर्व नै भरिएका मतपेटिका देखिएका विपक्षीको दाबी छ । प्रमुख विपक्षी पार्टी गानो फोरमका नेता कमाल हुसैनले स्वतन्त्र चुनावी सरकारको मातहतमा जतिसक्दो चाँडो नयाँ निर्वाचन गराउनु पर्ने बताएका छन् । उनको पार्टीले सात सिट मात्रै जितेको छ ।

बंगलादेशको निर्वाचन आयोगले देशभरबाट मतदानमा धाँधली भएको आरोप प्राप्त भएको र आफूहरूले त्यसको अनुसन्धान गर्ने जनाएको छ । बंगलादेश नेशनल पार्टीकी प्रमुख खालिदा जिया अहिले भ्रष्टाचार आरोपमा जेलमा छिन् । उनको पार्टीले यो चुनावमा अधिकांश सिटका मतदान केन्द्रमा धाँधली भएको आरोप लगाएको छ ।

चुनावी प्रक्रियाको क्रममा सत्तारुढ र विपक्षी पार्टीका कार्यकर्ताबीच भएको झडपमा कम्तिमा १७ जनाको मृत्यु भएको थियो ।

shares