‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ आज सुरु

सिन्धुपाल्चोक, १६ पुस । ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नाराका ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ आज सुरु हुँदैछ ।

जिल्ला समन्वय समिति महासङ्घको आयोजना र जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको मुख्य व्यवस्थापनमा मेलम्ची नगरपालिका–९, ज्यामिरे गुफाडाँडामा हुन लागेको सम्मेलन दुई दिनसम्म चल्नेछ ।

सम्मेलनको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहबीच उद्घाटन गर्ने कार्यक्रम छ । स्थानीय, प्रदेश र केन्द्रमा जननिर्वाचित सरकार बनेपछि सबै तहले जलवायु परिवर्तनबाट बच्न अनुकूलनको योजना बनाउने तयारी गरिरहँदा सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्र र हुने छलफलबाट सिन्धुपाल्चोक घोषणापत्र जारी गरी जलवायु अनुकूलन योजना निर्माणबारे सन्देश दिने र यसबारे सबैलाई सचेत गर्ने सम्मेलनको उद्देश्य छ ।

जलवायु अनुकूलन तथा न्यूनीकरणको उपायहरूको पहिचान, कार्यक्रम तर्जुमा तथा कार्यान्वयनले स्थानीयस्तरमा प्राथमिकता नपाएका कारण क्षेत्रगत तथा विषयगत सूचना उपलब्ध गराउने संयन्त्र बनाउन सम्मेलनमा जोड दिइनेछ ।

सम्मेलनमा देशका ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुखसहित एक जिल्लाबाट तीन जना सहभागी हुनेछन् ।

shares