यातायात प्राधिकरण गठन गर्ने सरकारको तयारी

काठमाडौं, १५ पुस । सरकारले यातायात सेवा संचालनका लागि छुट्टै प्राधिकरण गठन गर्ने तयारी गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात सेवा संचालनको कामलाई व्यवस्थित बनाउन सरकारले यातायात सेवा प्राधिकरण गठन गर्न लागिएको जानकारी गराएका हुन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी बैशाखभित्र ३ सयवटा विद्युतीय बस खरिद गरी संचालनमा ल्याउने योजना पनि अघि सारे ।

काठमाडौं उपत्यकाको यातायातलाई व्यवस्थित बनाउन मन्त्रिपरिषद बैठकले ३ सयवटा विद्युतीय बस खरिद गर्न स्वीकृति प्रदान गरिसकेको छ । मन्त्री महासेठले मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको उल्लेख गर्दै बैशाखभित्र सो विद्युतीय बस खरिद गरी संचालनमा ल्याउने जानकारी दिए ।

मन्त्री महासेठले महेन्द्र राजमार्ग स्तरोन्नतिको कामलाई यही पुस २५ गतेबाट औपचारिक रूपमै अघि बढाउने घोषणा पनि गरे । महेन्द्र राजमार्गको नारायणगढ–वुटवल सडक खण्ड स्तरोन्नतिको काम सुरुमा संचालन गर्ने मन्त्री महासेठको योजना छ ।

मन्त्री महासेठले २ लेनको सो राजमार्ग ४ लेन हुने गरी स्तरोन्नतिको काम गर्ने पनि जानकारी दिए । उनले सरकारले राष्ट्रिय गौरवको आयोजनाहरूको कामलाई उच्च प्राथमिकता दिएको दाबी पनि गरे ।

पत्रकार सम्मेलनमा मन्त्रालयका गरेका प्रथम चौमासिक कामको प्रगति विवरण पनि सार्वजनिक गरिएको थियो ।

shares