काठमाडौंको पेप्सीकोलाबाट १ जना ठग पक्राउ

काठमाडौं, १५ पुस । काठमाडौंको पेप्सीकोलाबाट नक्कली गहनालाई सक्कली भनी ठगी गर्ने १ जना पक्राउ परेका छन् ।

काठमाडौंको कोटेश्वर, जडिबुटी र पेप्सीकोला एरियामा नक्कली सुनलाई सक्कली भनी ठगी गर्दै आएका ललितपुरका २६ वर्षीय राजु परियार गत बिहीबार साँझ साढे ६ बजेतिर काठमाडौंको पेप्सीकोलाबाट पक्राउ परेका हुन् ।

ठगिएका रमेश मगर र रवि तामाङले उजुरी दिएपछि परियारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी बसन्तकुमार लामाले जानकारी दिए ।

परियारको साथबाट प्रहरीले सुनजस्तो देखिने धातुको १० थान सिक्री, सुन जस्तो देखिने धातुको ३२ थान बेरुवा औंठी, सुनजस्तो देखिने धातुको सादा ब्रासलेट १ थान बरामद गरेको छ ।

त्यसैगरी नक्कली रिङ एक जोर, कानमा लगाउने नक्कली टप १ जोर, मोवाइल ४ थान, विभिन्न व्यक्तिहरूको नागरिकताको प्रमाण पत्र ११ थान पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका परियारले नक्कली सुनलाई सक्कली भनी ३ लाख ९० हजार असुली गरेको प्रहरीमा उजुरी परेको छ । सोही उजुरीको आधारमा उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको पनि एसएसपी लामाले बताए ।

shares