इमान्दार ढंगले काम नगर्ने ठेकेदारलाई कारबाही गरिने

काठमाडौं, १५ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले इमान्दार ढंगले काम नगर्ने ठेकेदार, सडक विभागलगायतका संस्थामाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

काठमाडौंमा आयोजित रोडस् बोर्ड, नेपालको १६ औं वार्षिक साधारण सभामा उनले सडक विभागकै कारण काठमाडौंको रोडमा जनताकोअपेक्षा अनुसार सुधार आउन नसकेको जिकिर गरे ।

मन्त्री महासेठले आगामी चैत्र महिनाभित्र काठमाडौंको सडकलाई व्यवस्थित बनाउने गरी सडक विभाग, रोडस् बोर्ड, नेपाललगायतका संस्थाहरूलाई सरकारले गतिशील बनाइरहेको दाबी पनि गरे ।

मन्त्री महासेठले कानून र संरचना निर्माणमा धेरै समय दिनु परेकाले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको स्पष्टिकरण पनि दिए । उनले सडकको उचित व्यवस्थापन गर्न आवश्यक बजेटको व्यवस्था गरिदिन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरिएको पनि जानकारी दिए ।

मन्त्री महासेठले सडकको कामलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहमा पनि रोडस् बोर्ड, नेपालको कार्यालय स्थापना गर्ने तयारी भइरहेको पनि बताए ।

shares