थुनामुक्त दिपक मनाङेले दिए सपथ ग्रहणको लागि निवेदन

पोखरा, १५ पुस । सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त गुण्डानाईके दिपक मनाङेले प्रदेशसभा सांसदको सपथका लागि कोशिस सुरु गरेका छन् ।

थुनामुक्त भएपछि मनाङेले बिहीबार गण्डकी प्रदेशसभामा सपथ ग्रहणको माग गर्दै लिखित निवेदन दिएका छन् । त्यसपछि प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारीले शनिबार कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए ।

तर, संसद तथा समितिमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति नेपालका सांसद अनुपस्थित भएपछि बैठकले कुनै निर्णय लिन सकेन । सपथको विषयमा निर्णय नगरे मनाङे फेरि अदालत जान सक्ने भन्दै सभामुखले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएको स्रोतले जनाएको छ ।

गएको मंसिर १० गते भएको प्रदेशसभा निर्वाचनमा मनाङ ‘ख’ बाट मनाङे स्वतन्त्र उम्मेद्वारी दिएर तत्कालीन एमालेको समर्थनमा निर्वाचित भएका थिए । तर, ज्यान मार्ने उद्योग अन्तर्गत उनीमाथि मुद्दा थियो । त्यसैले निर्वाचित भएपछि पनि उनको सपथ रोकिएको थियो ।

सर्वोच्च अदालतको आदेशपछि मनाङ्गेलाई डिल्लीबजार कारागारले थुनामुक्त गरेको थियो । मनाङेको मुद्दा सर्वोच्चमा अझै विचाराधीन नै छ । अर्थात उनी दोषी ठहर भएका छैनन् र निर्दोष पनि सावित भइसकेका छैनन् ।

shares