पत्रकारले सत्यसँग साईनो नै नभएका समाचार सम्प्रेषण गरे: रक्षामन्त्री

काठमाडौं, १५ पुस । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सत्यसँग साईनो नै नभएका समाचार सम्प्रेषण गरेको भन्दै पत्रकारहरूको आलोचना गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले जनतालाई सही सूचना दिने भन्दा पनि सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएर पत्रकारहरूले हुँदै नभएका कुरालाई समाचार बनाउने गरेको उल्लेख गर्दै आपत्तिसमेत जनाए ।

नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तापक्ष र प्रतिपक्ष बन्ने होडमा जनतालाई गलत सन्देश दिने काम पत्रकारहरूले गर्न नमिल्ने पनि स्पष्ट पारे । आफ्ना कमजोरी भए जस्ताकोतस्तै जनतामा लैदिए आफूले पत्रकारहरूलाई सलाम गर्ने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

उपप्रधानमन्त्री पोखरेलले पत्रकारहरूले विषयमा आधारित भएर ठिकलाई ठिक भन्न सकेमात्रै जनताले सही सूचना पाउने र त्यसले राष्ट्रको पनि हित गर्ने स्मरण गराए ।

उपप्रधानमन्त्री पोखरेलले पत्रकारहरूले सही सूचना नदिए कतिपय अवस्थामा देशले गम्भीर नोक्सान व्यहोर्नुपर्ने अवस्था आउने तर्क पनि गरे । उनले पत्रकारहरूले सत्ता पक्ष र प्रतिपक्ष भइरहन जरुरी नभएको पनि बताए ।

shares